
नेपाललाई २ स्वर्णसहित ६ पदक
काठमाडौं। जापानको योकोहामामा भएको ११ औं सितोरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्य गरी ६ पदक जितेको छ ।
नेपालले व्यक्तिगत स्पर्धामा ४ र टिम स्पर्धामा २ गरी ६ पदक जित्यो ।महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए ।
महिला ६८ केजीमुनि निरुपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मिनबहादुर तामाङले कांस्य जिते ।दोहोरो पदक जितेका एरिका र निरुपाले महिला टिम कुमुते पनि कांस्य हात पारे । यो स्पर्धामा उनीहरुसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए ।
मेघा, एलिसा र सानुमायाले महिला टिम काता पनि कांस्य थपे ।२० औं एसियाली खेलकुदको कारतेमा सहभागी भइ नेपाली टोली जापानको नागोयाबाट योकोहामा गएको थियो । टोली मंगलबार नेपाल आइपुग्ने छ ।