
हर्नान्डेजको नेतृत्वमा नेदरल्यान्ड्सको पहिलो जित
काठमाडौं। जाभी हर्नान्डेजको नेतृत्वमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ।
यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा नेदरल्यान्ड्सले सर्बियालाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो।
एजेड अल्कमारका २३ वर्षीय मेक्स मेर्डिन्कले आफ्नो पहिलो सुरुआती खेलमै दुई गोल गरे। उनले ३०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए।
लुका योभिचले दोस्रो हाफमा सर्बियाका लागि बराबरी गोल गरे पनि मेर्डिन्कले ६९औं मिनेटमा अर्को गोल गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए।
रुबेन भान बोमेलको उत्कृष्ट क्रसमा मेर्डिन्कले उक्त गोल गरेका थिए। जर्मनीसँगको १–१ को बराबरीमा कोडी गाक्पोका लागि ढिलो गोलको अवसर सिर्जना गरेका भान बोमेलले लगातार दुई खेलमा गोलका लागि अवसर सिर्जना गरेका छन्।
बिहीबार राष्ट्रिय टोलीमा डेब्यु गरेका मेर्डिन्कले दोस्रो खेलमै दुई गोल गरेका छन्। यो जितसँगै नेदरल्यान्ड्सले समूह ए२ मा पहिलो जित हात पारेको छ। समूहमा दुई खेलबाट ग्रीस चार अंकसहित अगाडि छ।