
मेसीको सानदार फ्रिकिक खेर गयो
काठमाडौं। जमाल थियारेले दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा गोल गरेपछि कोलम्बस क्रुले एमएलएस कप विजेता इन्टर मियामीलाई आइतबार २–१ ले पराजित गरेको छ।
अर्जेन्टिना राष्ट्रिय टोलीबाट आफ्नो बिदाइको तयारीमा रहेका लिओनल मेसीले पहिलो हाफमा असम्भवजस्तै देखिने कोणबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै इन्टर मियामीलाई बराबरीमा फर्काएका थिए। तर‚ खेल सकिन केही क्षणअघि कोलम्बसले निर्णायक गोल गर्दै मियामीलाई स्तब्ध बनायो।
मियामीका वैकल्पिक खेलाडी सान्टियागो मोरालेस रातो कार्ड पाएर मैदानबाट बाहिरिएको केही समयपछि थियारेले गोल गरेका थिए। मियामीका गोलरक्षक रोक्को रियोस नोभोले कोलम्बसका खेलाडीको प्रहार नियन्त्रण गर्न नसक्दा रिबाउन्डमा आएको बल थियारेले जाली चुमाए।
खेलको अन्तिम क्षणको नाटकीय घटनाले मियामीका मेसीको अर्को उत्कृष्ट क्षणलाई भने ओझेलमा पार्यो। पहिलो हाफमा मेसीले दायाँ विङबाट प्राप्त फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए।
मैदानमा उपस्थित अधिकांश दर्शक र कोलम्बसका डिफेन्डरसमेत क्रस आउने अपेक्षामा रहेका बेला मेसीले बायाँ खुट्टाले प्रहार गरेको बल घुम्दै टाढाको माथिल्लो कुनामा पुगेको थियो।
३३औं मिनेटमा गरेको उक्त गोल इन्टर मियामीका लागि सबै प्रतियोगितामा मेस्सीको प्रत्यक्ष फ्रिकिकबाट भएको १२औं गोल हो। यस सिजन उनले फ्रिकिकबाट छैटौं गोल गरेका हुन्।
यससँगै मेसीले यस सिजन एमएलएसमा २१ गोल गरेका छन्। उनी गोल्डेन बुटको दौडमा एफसी डलासका पेटार मुसाभन्दा तीन गोलले अगाडि छन्।
दोस्रो हाफमा पनि मेस्सीले गोल थप्ने अवसर पाएका थिए। तर टाढाबाट गरेको उनको प्रहारमा कोलम्बसका गोलरक्षक प्याट्रिक शुल्टेले बचाउ गरे भने अर्को प्रहार पोस्टको बाहिरी जालीमा लाग्यो।
मियामी खेलको सुरुआतमा पाँच मिनेटका लागि मात्र पछि परेको थियो। उसका पूर्व स्ट्राइकर जोसेफ मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बसलाई अग्रता दिलाएका थिए। यानिक ब्राइटले पेनाल्टी क्षेत्रमा उनलाई फाउल गरेपछि प्राप्त पेनाल्टीलाई मार्टिनेजले गोलमा परिणत गरेका थिए।
कोलम्बसले भने खेलमा अझै राम्रो अवसर सिर्जना गरेको थियो। उसका अनास जरौरीको प्रहार तीनपटकसम्म पोस्टमा लागेर फर्किएको थियो।
जितसँगै कोलम्बस इस्टर्न कन्फरेन्समा १२औं स्थानमा पुगेको छ र प्लेअफमा स्थान बनाउने दौडमा कायम रहेको छ।
हारपछि इन्टर मियामी इस्टर्न कन्फरेन्समा तेस्रो स्थानमा छ। उसको अंक दोस्रो स्थानमा रहेको न्यु इङ्ल्यान्ड रिभोलुसनसँग बराबर छ भने शीर्ष स्थानको नासभिल एससीभन्दा १४ अंक पछाडि छ।
मेसीले अब अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेल्ने तयारी गरेका छन्। उनले अगस्टको अन्त्यमा अन्तर्राष्ट्रिय करिअर अन्त्य गर्ने घोषणा गरेका थिए। अर्जेन्टिनाले अक्टोबर ६ मा ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा बेनिनको सामना गर्नेछ।