
‘यो पदक मेरो एक्लो प्रयास होइन, हाम्रो टिमको एकताको परिणाम हो’
काठमाडौं। २०औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल नेपाली कबड्डी टोलीकी कप्तान मनमती बिष्टले ऐतिहासिक उपलब्धि सम्पूर्ण टोलीको मिहिनेत, एकता र समर्पणको परिणाम भएको बताएकी छन्।
कप्तान बिष्टले आफूले नेतृत्व गरेको टोलीले एसियाली खेलकुदमा कास्य पदक जित्न सफल हुँदा आफूलाई अत्यन्तै खुसी र गौरवान्वित महसुस भएको बताएकी छन्।
‘आफू कप्तान भएको बेला नेपाललाई ऐतिहासिक कास्य पदक जिताउन पाउँदा आज शब्दमा व्यक्त गर्न नसकिने खुसी र गौरवान्वित छु। यो ऐतिहासिक सफलता मेरो एक्लो प्रयासले मात्र सम्भव भएको होइन। हाम्रो टिम स्प्रिट र एकताकै कारण आज हामीले यो इतिहास रच्न सफल भयौं,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्।
जापानको तोकाइ सिटिजन जिम्नेसियममा शुक्रबार भएको सेमिफाइनलमा नेपाल पहिलो हाफमै ३१–१७ ले पछि परेको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता बनाएपछि नेपाल २४–४८ ले पराजित भयो।
समूह चरणमा नेपालले थाइल्यान्डलाई ४६–४३ ले हराएको थियो भने चाइनिज ताइपेइसँग ३७–१८ ले पराजित भएको थियो। अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाल सेमिफाइनल पुगेको थियो। सेमिफाइनल पुगेकै कारण नेपालले कम्तीमा कास्य पदक पक्का गरेको थियो।
यसअघि १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग सेमिफाइनलमा पराजित हुँदै कास्यमै सीमित भएको थियो। उक्त प्रतियोगितामा पनि विष्ट टोलीकी महत्त्वपूर्ण सदस्य थिइन्।
बिष्टले पदक जित्नुमा म्याटमा रगत–पसिना बगाउने १२ जना सहयात्री खेलाडी, टोलीलाई सही दिशा र रणनीति दिने दुई जना प्रशिक्षक तथा व्यवस्थापनमा खटिएका म्यानेजरको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेकी छन्।
आफ्नो खेल यात्रामा साथ दिने नेपाल प्रहरी, नेपाल पुलिस क्लब, प्रशिक्षक तथा सहकर्मी, नेपाल कबड्डी संघ, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रदेश तथा जिल्ला कबड्डी संघ, कबड्डीप्रेमी, खेलाडी र सञ्चारमाध्यमप्रति पनि उनले आभार व्यक्त गरेकी छन्।
‘मेरो खेल जीवनको सबैभन्दा ठूलो पिलर मेरो परिवार हो। विशेषगरी हरेक सुख–दुःखमा मेरो पाइलालाई बलियो बनाउने मेरो श्रीमान्ज्यूलाई धेरै–धेरै धन्यवाद र माया। तपाईंको विश्वासबिना म आज यो स्थानमा हुन सक्ने थिइनँ,’ उनले भनेकी छन्।
बिष्टले आफ्नो ऐतिहासिक कास्य पदकलाई सम्पूर्ण नेपाली तथा भदौ १० गतेको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका र प्रभावित भएका नागरिकप्रति समर्पित गर्ने घोषणा गरेकी छन्।
‘यो ऐतिहासिक कास्य पदक मलाई यहाँसम्म पुर्याउन साथ दिने सम्पूर्ण नेपालीहरू र विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका तथा प्रभावित हुनुभएका सम्पूर्ण पीडित बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा समर्पित गर्न चाहन्छु,’ उनी भन्छिन्।