सोमबार, ११ आश्विन २०८३

FacebookInstagramYoutube
Logo
Open menu

क्लोपको नेतृत्वमा जर्मनीको पहिलो हार, ग्रीससँग स्तब्ध

क्लोपको नेतृत्वमा जर्मनीको पहिलो हार, ग्रीससँग स्तब्ध

क्लोपको नेतृत्वमा जर्मनीको पहिलो हार, ग्रीससँग स्तब्ध

September 28, 2026

काठमाडौं। जर्गेन क्लोपको नेतृत्वमा जर्मनीले पहिलो हार बेहोरेको छ। यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार भएको खेलमा दिमित्रिस कुर्बेलिसले निर्णायक गोल गरेपछि ग्रीसले जर्मनीलाई १–० ले पराजित गरेको हो।


कुर्बेलिसले ७४औं मिनेटमा गरेको डिफ्लेक्टेड प्रहार गोलमा परिणत भएपछि घरेलु मैदानमा क्लोपको पहिलो खेलको उत्साह केही खल्लो बनेको थियो। सन् २००४ को युरोपियन च्याम्पियन ग्रीससँग जर्मनी पहिलोपटक पराजित भएको हो।


‘यो प्रक्रियाको एउटा हिस्सा हो, निश्चित रूपमा,’ क्लोपले एआरडीसँग भने,‘टोली छनोट, संरचना र धेरै खेलाडी परिवर्तन गर्नु यी सबै शतप्रतिशत मेरो निर्णय हुन्।’


क्लोपको नेतृत्वमा जर्मनीले बिहीबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग १–१ को बराबरी खेलेको थियो।


ग्रीसविरुद्ध जर्मनीले पहिलो हाफमा खेलमा ७७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको थियो। यद्यपि‚ उसले स्पष्ट गोलका धेरै अवसर सिर्जना गर्न सकेन।


३२औं मिनेटमा करिम अदेयेमीको प्रहारमा ग्रीसका गोलरक्षक कोन्स्टान्टिनोस जोलाकिसले उत्कृष्ट बचाउ गरे। त्यसबाहेक पहिलो हाफमा जर्मनीको आक्रमणलाई ग्रीसका गोलरक्षकले धेरै चुनौती सामना गर्नुपरेन।


दोस्रो हाफमा भने ग्रीसले आक्रमणमा सुधार गर्‍यो। फोटिस इओआनिडिसले राम्रो अवसर गुमाए भने जर्मनीका डिफेन्डर जोनाथन टाहले अर्को सम्भावित गोल रोके। त्यसपछि कुर्बेलिसले घरेलु समर्थकलाई स्तब्ध पार्दै निर्णायक गोल गरे।


टाहले खेलपछि जर्मनीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको बताए। उनले भने,‘साँचो भन्नुपर्दा, हामीले पर्याप्त राम्रो प्रदर्शन गर्न सकेनौं। खेल हार्दा हामी निराश र आक्रोशित हुनु स्वाभाविक हो। तर‚ महत्त्वपूर्ण कुरा भनेको हामी एकजुट रहनु हो। नयाँ प्रशिक्षकलाई लिएर बनेको उत्साहमा यसले परिवर्तन ल्याउने छैन।’


जर्मनीले अब बिहीबार म्युनिखमा सर्बियासँग खेल्नेछ।